गगन थापा भन्छन्– संस्थापन इत्तर समूहप्रति बफादार छु, शेखरलाई संसदीय दलको नेता बनाउँ

गगन थापा भन्छन्– संस्थापन इत्तर समूहप्रति बफादार छु, शेखरलाई संसदीय दलको नेता बनाउँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसक्दो छिटो नेता शेखर कोइरालाई संसदीय दलको नेता बनाउनुपर्ने बताएका छन् । आज बसेको संस्थापनइतरको बैठकमा उनले कोइरालालाई दलको नेता नबनाए ०८२ मा महाधिवेशन हुनै नसक्ने जिकिर गरे । 

“संसदीय दलको नेता फेर्नुपर्छ । संसदीय दलको नेता नफेरेसम्म ०८२ मा महाधिवेशन हुँदैन । शेखर कोइरालाई नै संसदीय दलको नेता बनाउनेतिर लागौँ,” उनको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

अब जतिसक्दो छिटो शेखर कोइरालालाई संसदीय दलको नेता बनाउनतिर लाग्नुपर्ने उनको भनाइ छ । उनले आफू समूहमा बफादार रहेको पनि बताएका छन् । 

“समूहप्रति पूर्ण बफादार छु र शेखर दाइलाई नेता मान्ने र बनाउने कुरामा म जस्तो त्याग गर्न तयार छु,” उनले बैठकमा भनेका छन्, “म र शेखर दाइको बीचमा कुनै मनमुटाव छैन भनेर कति भन्ने ? साथीहरूले धेरै खेल्दिनुभएन ।” यो समूहको बैठकमा पहिला जान तयार नभएका गगन असहमतिलाई वार्तामार्फत टुंग्याउने सहमतिपछि बैठकमा उपस्थित भएका थिए ।