काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा इन्ट्री गरेपछि डा सीके राउत नेतृत्वको जनमत पार्टीसँग गठबन्धन वा चुनावी तालमेल हुने चर्चा हुन थालेको छ ।
रास्वपाका अध्यक्ष रवि लामिछाने र अध्यक्ष राउतबिच राम्रो सम्बन्ध रहँदै आएको छ । दुवै दल अहिले ‘मिसन ०८४’ सञ्चालन गरिरहेका छन् । दुवै नयाँ शक्ति भएका कारण मधेसमा चुनावी गठबन्धन हुने आकलन सबैतिर भइरहेको छ ।
हुन त २०७९ को चुनावमा जनमत पार्टीका अध्यक्ष राउतले चुनावी गठबन्धन गर्न विभिन्न दलका शीर्ष नेताको दैलो चहारेका थिए । उपेन्द्र यादव नेतृत्वको जसपा, महन्थ ठाकुर नेतृत्वको लोसपालगायतका दलसँग भेटेर उनले वार्ता नै गरेका थिए तर उनको पार्टीसँग तालमेल गर्न कोही तयार नभएपछि एक्लै चुनाव लडेका थिए ।
मधेसमा स्वतन्त्र पार्टीले इन्ट्री गरेपछि सबैभन्दा बढी घाटा जनमत पार्टीलाई नै हुने देखिएको छ । जनमत पार्टी र स्वतन्त्र पार्टीको मतदाता जेनरेशन एउटै हो । मधेसी युवाको आकर्षण यी दुई पार्टीमै मात्र देखिन्छ । मधेसमा मधेसवादी दलमा जसपा र जनमत पार्टीबिच प्रतिस्पर्धा हुने देखिएको छ । स्वतन्त्र पार्टी मधेसमा सक्रिय भयो भने जनमत पार्टीलाई नै घाटा हुने टिप्पणी भइरहेका छन् । त्यही भएर जनमत पार्टीले स्वतन्त्र पार्टीसँग चुनावी तालेमल गर्न सक्ने धेरैको अनुमान छ ।