पक्राउ पुर्जी जारी भएपछि विप्लवले दिए यस्तो प्रतिक्रिया

पक्राउ पुर्जी जारी भएपछि विप्लवले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द विप्लवले जिल्ला अदालत काठमाडौँले आफूविरूद्ध जारी गरेको पक्राउ पुर्जीलाई गम्भीर रुपमा लिएको बताएका छन् । 

सोमबार अदालतले विप्लवसहित शीर्ष नेताहरूविरूद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जीबारे  उनले यसअघि भएका सहमति पालना गर्न राज्यका सबै निकायले गम्भीर ढंगले बोध गर्नुपर्ने बताए । 

यद्यपि यसविषयमा वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक भएको उनले प्रतिक्रिया दिएका छन् । सहमतिलाई टुंग्याउन नदिन जुन खालको षड्यन्त्र भइरहेको छ, त्यसमा राज्यका निकायहरू नपर्न उनले आग्रह गरेका छन् । 

‘सहमतिलाई टुंग्याउन नदिने जुन खालको तत्वहरूको षड्यन्त्र भइरहेको छ, त्यसमा राज्यका कुनै पनि निकाय नपरून् भन्ने हाम्रो आग्रह छ । जहाँसम्म अदालतको कुरा छ, राज्यले कानुन बनाएर निष्कर्ष नदिएसम्म अदालतले आफ्नो प्रक्रिया अगाडि बढाउँछ । त्यसलाई अन्यथा लिने कुरा आउँदैन’, अदालतले जारी गरेको पक्राउ पुर्जीबारे उनले प्रतिक्रिया दिए । 

विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश ओली, माइला लामा, राजु कार्कीलगायत शीर्ष नेतालाई ३५ दिन भित्र सबुद प्रमाणसहित अदालतमा हाजिर हुन भनिएको छ ।