काठमाडौँ । राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुने १९ सिटमा सत्ता गठबन्धनबीच मोटामोटी सहमति भएको छ । सत्ता गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच सिट बाँडफाँट भएको हो ।
उनका अनुसार सत्ता साझेदार दल जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतले राष्ट्रिय सभा निर्वाचनमा भाग पाउने छैनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युएई भ्रमणअघि भएको छलफलमा प्रमुख चार दलबिच सिट बाँडफाँटमा मोटामोटी सहमति भएको छ ।
जसमा कांग्रेसले ९, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ३ र जसपाले १ पाउने छ । फागुन १९ मै राष्ट्रपतिबाट मनोनीत एक जनाको पनि पदावधि सकिँदै छ । उक्त सिट कांग्रेसले पाउने छ ।
कांग्रेसले कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एक–एक सिट पाउने छ भने बागमती र गण्डकीमा दुई–दुई सिट पाउने छ । यस्तै माओवादी केन्द्रले, कोशी, बागमती, गण्डकी र कर्णालीमा एक–एक र सुदूरपश्चिममा दुई सिट पाउने छ । यस्तै एकीकृत समाजवादीले बागमतीमा २ र कर्णालीमा एक सिट पाउने छ ।
जसपाको भागमा मधेस प्रदेशको एक सिट परेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले थप एक सिटमा दाबी गरेको नेताहरू बताउँछन् । बागमती वा लुम्बिनी प्रदेशमा जसपाले एक सिट थप पाउनुपर्ने यादवको अडान छ ।
गठबन्धनमा भएको सहमति हेर्दा एमालेबाट पदावधि सकिएका ८ जनामा केन्द्रित छ । एमालेका बागमतीबाट २, गण्डकीबाट २ लुम्बिनीबाट १, कर्णालीबाट २ र सुदूरपश्चिम प्रदेशबाट एक जनाको पदावधि सकिँदैछ ।
एमालेका बागमतीबाट दिलकुमारी रावल थापा पार्वती, रामचन्द्र राई, गण्डकीबाट गणेश तिमिल्सेना, दीपा गुरुङ, लुम्बिनीबाट कुमार दसौदी, कर्णालीबाट नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र सुदूरपश्चिम प्रदेश इन्दु कडरिया,को पदावधि सकिँदै छ ।
यस्तै कांग्रेसका कोशीबाट रमेशजङ्ग रायमाझी, मधेस प्रदेशबाट जितेन्द्रनारायण देव, गण्डकीबाट प्रकाश पन्थ र लुम्बिनीबाट अनिता देवकोटाको पदावधि सकिँदै छ । यता माओवादीका कोशीबाट बिना पोखरेल, सुदूरपश्चिमबाट हरिराम चौधरी र महेशकुमार महरा बिदाइ हुनेछन् भने एकीकृत समाजवादीका बागमतीबाट सिंगबहादुर विश्वकर्मा र कर्णालीबाट नन्दा चपाईको पदावधि सकिँदै छ ।
जसपाका मधेस प्रदेशबाट प्रमीला कुमारी र बागमती प्रदेशबाट निर्वाचित स्वतन्त्र सदस्य खिमलाल देवकोटाको बिदाइ हुनेछ । प्रदेशगत रूपमै कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले आ—आफ्नो सिट सुरक्षित राख्ने बुझिएको छ । यद्यपि व्यक्ति व्यवस्थापनमा कुनै पार्टीलाई असहज भए प्रदेशमा सिट साटफेर हुन सक्ने गरी सहमति भएको नेताहरूको दाबी छ ।
नयाँ मतभार अनुसार सातै प्रदेशमा गठबन्धनको पल्ला भारी देखिएकोले राष्ट्रियसभा सदस्य बन्ने नेताहरुले दौडधूप सुरु गरेका छन् ।