‘मंसिर ३० मा समानान्तर सरकार घोषणा, फागुन १ मा ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र फाल्छौँ’

‘मंसिर ३० मा समानान्तर सरकार घोषणा, फागुन १ मा ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र फाल्छौँ’

काठमाडौं । व्यवस्था परिवर्तनको आन्दोलन घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने दाबी गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईँले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताए । उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताए । नागरिक सरकारमा राष्ट्रवादी शक्तिहरु,युटुबर भनेर हेपिएका मूलधारबाहिरका संचारकर्मीहरुलाई समेत समेटिने प्रसाईले बताए । प्रसाईँले भने– झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ । अब यो व्यवस्था परिवर्तन हुन्छ ।

प्रसाईँले आफ्नो पहिलो चरणको आन्दोलनको उपलब्धि सुनाउँदै यो चरणमा युवा संघको दादागिरी पराजित गर्न सकिएको दाबी गरे । उनले आफ्नो कारण तरुण दल र वाइसिएलजस्ता अरु दलका युवाले राहत महशुस गरेको बताए ।

प्रसाईले राजाले पनि चुप लागेर दरवारभित्र बस्न छाडेर जनताको आँशु पुछ्न सडकमा आउनुपर्ने बताए ।