युद्धविराम सकिएकै दिन गाजा पट्टीमा इजरायलको हवाई आक्रमण, कम्तिमा ३२ जनाको मृत्यु

युद्धविराम सकिएकै दिन गाजा पट्टीमा इजरायलको हवाई आक्रमण, कम्तिमा ३२ जनाको मृत्यु

काठमाडौं । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तिमा ३२ जनाको मृत्यु हुनुको साथै दर्जनौं घाइते भएका छन् ।  गाजा पट्टीका थुप्रै क्षेत्रहरूलाई लक्षित गर्दै इजरायलीहरूले गरेको आक्रमणमा परी कम्तिमा ३२ जना प्यालेस्टाइनीहरू मारिएको र थुप्रै घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

गाजाको सरकारी सञ्चार कार्यालयले विज्ञप्ति जारी गर्दै इजरायली विमानले गाजा पट्टीका  विभिन्न शहरहरूका बसोबास रहेको र भीडभाड भएका क्षेत्रहरूमा बमबारी  जारी राखेको जनाएको छ ।  

 विज्ञप्तिमा बालबालिका र महिलाहरू विरुद्ध जारी आक्रमणका लागि अन्तरराष्ट्रिय समुदायलाई जिम्मेवार ठहराइएको छ । इजरायली सञ्चार माध्यमका अनुसार नोभेम्बर २४ मा इजरायल र हमासले अल्पकालीन युद्धविराम गरेपछि पहिलो पटक आज बिहान गाजासँगको सीमा नजिक इजरायली शहरहरूमा साइरन बजिरहेको आवाज सुनिन्थ्यो । 

इजरायली सेनाले गाजा पट्टीबाट इजरायलतर्फ प्रहार गरिएको क्षेप्यास्त्रलाई रोकेको पुष्टि गरेको छ। आक्रमणपछि, इजरायली होम फ्रन्ट कमाण्डले देशका केही क्षेत्रहरूमा नागरिकहरूका लागि दिशा निर्देशहरूलाई कडा पारेको छ।

इजरायल र हमासबीच भएको अस्थायी मानवीय युद्धविराम स्थानीय समय अनुसार आज बिहान ७ बजे  समाप्त भएको थियो।