नेकपा एमालेको मध्य पहाडी लोकमार्ग सङ्कल्प यात्रा सुरु

नेकपा एमालेको मध्य पहाडी लोकमार्ग सङ्कल्प यात्रा सुरु

काठमाडौं । नेकपा एमालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङ सङ्कल्प यात्रा सुरु भएको छ । यात्राको लागि बुधबार नै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरू बैतडी पुगेका हुन् ।

अध्यक्ष ओलीले आज नेपाल–भारतको सीमावर्ती बजार झुलाघाटबाट नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर यात्राको उद्घाटन गरेका हुन् । पार्टी अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेलसहितका सबै पदाधिकारी र केन्द्रीय स्तरका अन्य नेताहरू बुधबार साँझ नै सदरमुकाम गोठलापानी आइपुगेका छन् । नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्ण प्रसाद जैशीका अनुसार झुलाघाटबाट सुरु भएको सङ्कल्प यात्रा मध्य पहाडी लोक मार्गमा तीन सातासम्म चल्नेछ । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर रहेको छ । पुस २ गते पाँचथरको चिवा झञ्ज्याङमा पुगेर यात्रा समापन हुने सुदूरपश्चिम अध्यक्ष जैशीले जानकारी दिए ।

यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ । सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गरिने भएको छ । यसैबीच प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्व र सान्दर्भिकता दर्साउने बताइएको छ ।

मध्य पहाडी लोकमार्ग
करिब २६ वटा पहाडी जिल्लालाई सडक सञ्जालले जोड्ने लक्ष्यसहित पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नामकरण गरी सरकारले निर्माणको कार्य अगाडि बढेको छ । तर निर्माणको कार्यले सार्थकता पाउन सकेको छैन । आयोजना सुरु गर्दा सुरुमा एक हजार ७७६ किलोमिटर अनुमान गरिएको थियो । पछि एक हजार ८७९ किलोमिटर पु¥याएको थियो । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले २०६४÷६५ मा तराईको महेन्द्रराजमार्ग र हुलाकी राजमार्ग जस्तै मध्य पहाडी भूभागलाई राजमार्गले पूर्व–पश्चिम जोड्ने उद्देश्यले पहिलो पटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखाङकन गरि बजेट विनियोजन गरेका थिए । भट्टराई नै २०६८ मा प्रधानमन्त्री भएका बेला उक्त लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेका थिए । 

पहाडका २६ जिल्ला भएर जाने राजमार्गले करिब १ करोड जनसंख्या लाभान्वित हुने अनुमान गरिएको छ । साथै पहाडी क्षेत्र १० वटा शहरको विकास हुने र यहाँबाट अन्यत्र बसाइ सरेर जाने क्रममा रोकिने बताइएको छ ।