युवा संघ र प्रसाईं नेतृत्वको प्रदर्शन आज, यस्तो छ सुरक्षा व्यवस्था (तस्वीरहरु)

युवा संघ र प्रसाईं नेतृत्वको प्रदर्शन आज, यस्तो छ सुरक्षा व्यवस्था (तस्वीरहरु)

काठमाडौँ । काठमाडौँमा आज हुन लागेका दुईवटा छुट्टाछुट्टै समूहको विरोध प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् । 

बल्खुमा  प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गर्नेछ भने नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ । प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले  बताए ।

प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।