आज माग पूरा नभए ‘दिमाग खराब’को प्रदर्शन रोकिने

आज माग पूरा नभए ‘दिमाग खराब’को प्रदर्शन रोकिने

काठमाडौँ । ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलले चलचित्र संघले आफ्नो माग आज (बुधवार) पूरा नगरे फिल्मको प्रदर्शन रोक्ने बताएका छन् । निर्माता र चलचित्र सङ्घबिच वार्ता गर्न मंगलबार गठित वार्ता टोलीले समस्या समाधानका लागि बुधवारसम्म समय मागेको आज फिल्म प्रदर्शन जारी राखिएको उनको भनाइ छ ।

‘हामीले आजको लागि पनि फिल्मको शो राखेका थिएनौँ’, कँडेलले भने, ‘निर्माता संघको वार्ता टोलीका संयोजक अशोक शर्माको अनुरोधमा एक दिन पर्खिएका हौँ । आज तीन बजेसम्म समय माग गरिएको छ । त्यो समयसम्म समस्या समाधान नभए फिल्मको प्रदर्शन रोक्छौँ’ कँडेलले थपे ।

फिल्म ‘दिमाग खराब’ले उठाएको ५० प्रतिशत सेयरलगायत मुद्दाको विषयमा छलफलका लागि चलचित्र संघ र चलचित्र निर्माता संघले वार्ता टोली नै गठन गरेको छ । प्रदर्शक र निर्मातालाई प्रतिनिधित्व गर्ने गरेर वार्ता टोली गठन भएको हो । निर्माता संघको तर्फबाट गठित टोलीमा पूर्व अध्यक्ष तथा सल्लाहकार अशोक शर्माको संयोजकत्वमा उदयकुमार इङ्नाम, दीपकराज गिरी, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, रविन्द्रसिंह बानियाँ र कृषा चौलागाईं सदस्य छन् । त्यस्तै चलचित्र संघको तर्फबाट गठित वार्ता टोलीमा पूर्वअध्यक्ष राजकुमार पोखरेलको संयोजकत्वमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, सुरेन्द्र थापा, प्रज्वल राणा लगायत सदस्य रहेका छन् ।

दुबै वार्ता टोलीबीच मंगलबार एक चरणको छलफल समेत भएको थियो । छलफलमा ‘दिमाग खराब’ले उठाएको विषयमा चलचित्र संघ र निर्माता संघबिचको विषय भएको भन्दै फेरि छलफलबाट टुङ्ग्याउने सहमति भएको चलचित्र संघका उपाध्यक्ष तथा वार्ता टोलीका सदस्य गोपालकाजी कायस्थले बताए । 

के थियो विवाद ?

‘दिमाग खराब’ तिहारको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो । फिल्मले सुरुको समय राम्रो सो पाए पनि हिन्दी फिल्म ‘टाइगर ३’ प्रदर्शनमा आएपछि सो कटौतीमा परेको थियो । सोही विषय र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै फिल्म ‘दिमाग खराब’ निर्माण कम्पनी सिनेमा आर्ट्सले शो र शेयर बाँडफाँडको विषयमा आपत्ति जनाउँदै प्रदर्शन रोक्ने चेतावनी दिएको थियो । ‘दिमाग खराब’को चेतावनीपछि चलचित्र संघले निर्माण युनिटसँग माग सम्बोधनका लागि मंगलबारसम्म समय माग गरेको थियो ।