प्रचण्डसँग फेरि सहकार्यका लागि तयार भए बाबुराम

प्रचण्डसँग फेरि सहकार्यका लागि तयार भए बाबुराम

काठमाडौँ । नेपाल समाजवादी पार्टीमा अध्यक्ष डा. बाबुराम भट्टराईको माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमत भएका छन् । सोमबार राति भट्टराई निवास टोखामा चार शीर्ष नेताहरूको बैठकमा आफ्नै नेतृत्वमा एकता संयोजन समिति गठन गर्न तयार भएका हुन् ।

बैठकमा अध्यक्ष भट्टराईसहित अर्का अध्यक्ष महेन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादव सहभागी थिए । सोमबार बसेको पार्टी एकता वार्ता समितिले शीर्ष नेताहरूकै नेतृत्वमा संयोजन समिति बनाउन सुझाव दिएको थियो । टोखामा बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले माओवादीसँग एकता गर्ने सहमति जुटेको महासचिव रमेश यादवले बताए ।

उनले भने, माओवादीसँग एकता गर्न हामीबीच सहमति भएको छ । अब हामीले पार्टी अध्यक्षकै नेतृत्वमा समायोजन समिति बनाउँछौं । उहाँहरूको तर्फबाट पनि पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा समिति बनाउनुपर्छ भनेका छौं । उहाँहरु पनि तयार हुनुहुन्छ । उनले समितिका अर्का अध्यक्ष यादव पनि रहने बताए ।

उनले भने, हामीले हिजो गरेको निर्णय कार्यान्वयनका लागि अहिले पदाधिकारी बैठक बस्दैछौं । थप निर्णय भोलिबाट बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्छ । वृहत् समाजवादी मोर्चा बनाउने अभियानकै क्रममा माओवादीसँग एकता गर्न लागेको उनले सुनाए । एकतापछि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने लगभग दुवै पार्टीबीच सहमति भइसकेको उनले दाबी गरे ।

२०७२ सालमा माओवादी छाडेका बाबुराम ८ वर्षपछि फेरि प्रचण्डसँगै सहकार्य गर्न राजी भएका हुन् ।