काठमाडौँ । मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले आज निजी क्षेत्रसँग सुझाव, सल्लाह लिने भएको छ ।
अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए ।
यही विषयमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निजी क्षेत्रसँग पनि छलफल गरिने अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । हिजोको बैठकमा देशको अर्थतन्त्रबारे आफूले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको र त्यसपछि राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना कुरा राखेको महतले बताए ।