रिगलको कैद मिनाहा बदर गर्ने आदेश स्वागतयोग्य छ : गगन थापा

रिगलको कैद मिनाहा बदर गर्ने आदेश स्वागतयोग्य छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत थापाले योगराज ढकाल भनिने रिगललाई आममाफी दिने सरकारको निर्णय अदालतले बदर गर्नु स्वागतयोग्य भएको बताएका हुन् । 

मुद्दाको अन्तिम किनारा र पीडितको हक लगायतका विषयमा अदालतले फेरि बोलेको उनले बताए । साथै महामन्त्री थापाले आममाफीसँग सम्बन्धित कानुनलाई एकीकृत गर्न र कानुनी छिद्रहरू टाल्न आग्रह गरे । उनले भने, ’अब हामी अलमलिने वा यो विषयलाई नजरअन्दाज गर्ने भन्ने नै हुँदैन, आम माफीसँग सम्बन्धित सम्पूर्ण कानुनलाई एकीकृत गरेर व्याख्या गरौँ र कानुनी छिद्रहरू टालौँ ।’

आम माफीका घटना आउँदा त्यसको विरोध गर्ने, घटना सेलाउँदै गए पछि बिर्सिने प्रवृत्तिलाई अब फेरि दोहोरिन दिनु नहुने उनको भनाइ छ । ’यस सम्बन्धमा जे–जसरी आम माफी दिने गरिएको छ त्यसले यो प्रणालीमै प्रश्न उठ्ने गरेको छ। यसमा मुद्दाको अन्तिम किनारा गर्नुमा न्यायपालिकाको भूमिका र पीडितको न्यायको विषयको आधारमा यो प्रणालीमै पुनर्विचार गर्नुपर्नेछ,’  उनले भने  ।