विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

काठमाडौं । महानायक राजेश हमालले विदेशी नागरिकता एवम् पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न अनुरोध गरेका छन् । बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया कार्यक्रममा बोल्दै हमालले यस्तो बताएका हुन् ।

जहाँ रहे पनि, जहाँको नागरिकता र पासपोर्ट हात पारेता पनि आफ्नो पहिचान आफ्नै हुने बताउँदै उनले भने, ‘पहिचान भन्ने कुरा तपाईंले कसैको देशको नागरिकता लिएर न त्याग्न मिल्छ, न त कसैले तपाईंको पहिचानलाई खोस्न सक्छ । त्यसकारण आफ्नो पहिचान जोगाइराख्नु पर्दछ ।’

पहिलो पुस्ताका नेपालीहरुमा नेपालप्रतिको आत्मियता असाध्यै धेरै रहेको बताउँदै महानायक हमालले दोस्रो पुस्ताका नेपालीलाई आफ्नो पहिचान सिकाउन भूमिका खेल्नुपर्ने बताए । ‘आफ्नो कला, संस्कृति र भाषाको संरक्षण गर्नुपर्छ । धर्म, संस्कृति, रितिरिवाजलाई तपाईंहरूले नै दोस्रो पुस्तालाई पनि सिकाउनु पर्छ । त्यो जिम्मेवारी पहिलो पुस्ताले लिनुपर्दछ,’ हमालले थपे ।

अरू देशको तुलनामा नेपालबाट विदेशिने क्रम हालसालै बढेको उनले बताए । ‘ल सबै नेपाली दाजुभाइ विदेशिनु भो भन्ने कुराहरू गर्छौं, तर हामी विदेशिन थालेको धेरै भएको छैन,’ उनले भने, ‘अरू राष्ट्रको हेर्नु भो भने २–४ पुस्ता भइसकेको छ । तर विदेशमा हामी पहिलो पुस्ता भएका छौं । बच्चाहरु यहाँ हुर्किंदै छन् । त्यसैले अन्यको तुलनामा हाम्रो पछि नै हो ।’

तर २०–२५ वर्षको छोटो समयमा पनि डायस्फोरामा नेपालीहरुले ठूलो सफलता हासिल गरेको हमालले प्रष्ट पारे । ‘विदेशमा तपाईं कोही गीत संगीत, कलामा अब्बल हुनुहुन्छ । कोही राजनीतिमा लाग्नु भएको छ । कोही रोजगारी गरेर आफूलाई राम्रोसँग स्थापित गर्नु भएको छ । यो उपलब्धि देख्दा एकदमै खुशी लाग्छ,’ हमालले थपे ।

उनले युवाहरुलाई समय खेर नफाल्न र कामलाई सम्मान गर्दै मिहिनेत गर्न पनि अनुरोध गरेका छन् । जुनसुकै राष्ट्रमा बसे पनि त्यहाँको भाषा, संस्कृति र रहनसहनलाई नियाल्ने प्रयास गर्न समेत उनले अनुरोध गरेका छन् ।

महानायक हमालले पोर्चुगल अघि फ्रान्स र बेल्जियमका नेपालीहरुमाझ पनि अन्तर्क्रिरया गरेका थिए । हमाल विदेशमा रहेका नेपालीहरुको संघर्ष र सफलताको कथालाई समेटेर टेलिभिजन कार्यक्रम ल्याउने तयारीमा जुटेका छन् । सोही सिलसिलामा नै उनले युरोपको समेत भम्रण गरेका हुन् ।