माओवादीको पत्रप्रति बाबुराम समूहको जवाफ : पत्र होइन, अपरिपक्वताको पराकाष्ठा

माओवादीको पत्रप्रति बाबुराम समूहको जवाफ : पत्र होइन, अपरिपक्वताको पराकाष्ठा

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा) को बाबुराम भट्टराई समूहले पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्रलाई अपरिपक्वताको पराकाष्ठा भएको प्रतिक्रिया दिएको छ । सोमबार र मंगलबार बसेको नेसपाको कार्यकारिणी समितिको बैठकले उक्त पत्राचारलाई मान्यता नदिई घोर भर्त्सना गरेको अध्यक्ष डा. बाबुराम समूहका एक नेताले बताए ।  

पार्टी उपाध्यक्ष दुर्गा सोबले पार्टी एकता सम्बन्धमा माओवादीले पठाएको पत्रको निन्दा गर्दै विचार, नीति, सिद्धान्त मिल्नेसँग राजनीति छलफल गर्न पार्टी खुला रहेको बताइन् । कार्यकारिणी बैठकमा माओवादीसँग पार्टी एकता गर्नेसम्बन्धमा दुई दिनसम्म गम्भीर छलफल भएको जानकारी दिइन् । उनले केन्द्रीय  समिति बैठक बोलाउने गरी बुधबार पदाधिकारी बैठक बोलाएको जानकारी दिइन् । 

माओवादीले भदौ ३० गते पठाएको पत्रले नेसपाभित्र अन्तर्विरोध उत्पन्न भएको छ । सोही विषयमा निर्णय लिन पदाधिकारी बैठक १२ बजे बस्न लागेको सोबले बताइन् । माओवादीले नेता  महिन्द्रराय यादवलाई सम्बोधन गरेर केहीअघि पत्राचार गरेको थियो । सो पत्रलाई रायसहितका नेताहरूले भने सकारात्मक रुपमा लिएका छन् ।