नेपाल र भारतको खुल्ला सीमा पीडितको सहयोगार्थ ‘काँडेतार’को विशेष प्रदर्शन

नेपाल र भारतको खुल्ला सीमा पीडितको सहयोगार्थ ‘काँडेतार’को विशेष प्रदर्शन

काठमाडौँ । नेपाल र भारतको खुल्ला सीमाका कारण झडपमा परी मृत्यु भएका परिवार तथा घाइतेहरूको सहयोगार्थ फिल्म ‘काँडेतार’को विशेष प्रदर्शन गरिएको छ । म्याजिक सिनेमाहल झुम्का सुनसरीमा आयोजित विशेष शोमा सुनसरी जिल्लाका सिडियो हुमकला पाण्डे, रामधुनि नगरपालिका मेयर शंकरलाल चौधरी, उपमेयर तारा थापा, चलचित्रकर्मीको उपस्थिति रहेको थियो । फिल्मका निर्देशक नवल खड्का हुन् ।

विशेष शोमा फिल्मले राम्रो प्रतिक्रिया पाएको निर्देशक खड्काले बताए । उनले विशेष शोको सकारात्मक प्रतिक्रियाले सार्वजनिक प्रदर्शनका लागि आफू उत्साहित रहेको सुनाए । फिल्मको यस अगाडि काठमाडौँ, बुटवल लगायतको केही स्थानमा शो भएको थियो । उक्त शोमा पनि फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो । बुटवलको विशेष शो नेपाल भारत सीमाको सुरक्षार्थ खटिने क्रममा घाइते र निधन भएका सुरक्षाकर्मीको परिवारलाई सहयोग गर्ने उद्देश्यले गरेको थियो ।

आगामी फागुन २५ गतेबाट देशभर सार्वजनिक प्रदर्शनमा आउने फिल्मले नेपाल भारतको सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने कथामा विषयवस्तुको रुपमा उठाएको छ ।

फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बालकलाकारहरु नादिया खड्का, सनया खड्का लगायतको अभिनय छ । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ । किको राई, अञ्जु केसी र नवल खड्का निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन् । ‘काँडेतार’मा मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन छ ।