काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अब सरकारमा कांग्रेसको नेतृत्व आवश्यक रहेको उल्लेख गरेका छन् । कोइरालाले प्रधानमन्त्री प्रचण्डले प्रभावकारी काम गर्न नसकेकाले आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखे । अहिले कांग्रेसका मन्त्रीहरुले केही गर्न नसकेको प्रसंङ्ग उल्लेख गर्दै कोइरालाले भने,’प्रधानमन्त्री र मुख्य सचिव बसेर निर्णय गर्छन् र त्यही सदर हुन्छ । त्यसैले अबको सरकार काङ्ग्रेसको नेतृत्वमा बन्न जरुरी छ ।’
कांग्रेसको चितवन जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देश जातीय द्वन्द्वमा जाने सम्भावना बढेकोले प्रचण्डले त्यसलाई उकास्ने काम गरेको आरोप लगाए । डाक्टर कोइरालाले भने, ‘केही समय अगाडि जातीय संस्थाको कार्यक्रममा प्रधानमन्त्रीले मलाई जिताउनोस् म जातीय राज्य दिन्छु, भन्नुभयो । देशको प्रधानमन्त्रीले यस्तो गैरजिम्मेवार कुरा गर्न मिल्दैन ।’ गाई काटेर खाएको प्रसङ्ग सम्झँदै कोइरालाले देशमा धार्मिक र सामाजिक सद्भाव कायम गर्न नसके अप्ठ्यारो परिस्थिति आउने बताए । लोकरिझ्याइँको नाममा चारैतिर अराजकता फैलिरहेको बताउँदै उनले भने – ’देख्दा धार्मिक देखिएता पनि यसले जातिय द्वन्द्व फैलिन सक्छ ।’
नेता कोइरालाले गत स्थानीय तह र आमनिर्वाचनमा पटकपटक माओवादीलाई सघाउने निर्णय गर्नु काङ्ग्रेसको गल्ती र कमजोरी भएको स्मरण गर्दै भने – ’हामीबाट गल्ती र कमजोरी भएको छ । यो निर्वाचन प्रणालीले कुनै पनि निर्वाचनमा कुनै दलको स्पष्ट बहुमत आउन सक्दैन । आजदेखि नै यो विषयमा छलफल गर्नुपर्छ । एमाले त मान्छ होला तर माओवादी मान्दैन ।’ कोइरालाले पार्टीभित्र व्यक्तिवादी चरित्र हावी भएको भन्दै चितवनका नेता तथा कार्यकर्तासँग वाचा गर्दै भने, ‘अब तपाईँहरुले अन्याय भोग्नु पर्दैन । अन्याय हुन म दिन्नँ, यो मेरो वाचा भयो । तपाईंहरुलाई म पुरै सहयोग गर्नेछु ।’ कार्यक्रममा नेता कोइरालाले चितवनका जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरेका थिए ।