वैवाहिक बन्धनमा बाँधिइन् निरुता सिंह, को हुन् श्रीमान् ?

वैवाहिक बन्धनमा बाँधिइन् निरुता सिंह, को हुन् श्रीमान् ?

काठमाडौँ । अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छन् । लामो समयदेखि परिवारसँग मुम्बईमा बस्दै आएकी उनले भदौ १४ गते बिहीबार मुम्बई निवासी सञ्जीभ गुलाटीसँग विवाह गरेकी हुन् ।

अभिनेत्री सिंहले विवाह बन्धनमा बाँधिएको जानकारी गराउँदै लेखेकी छन्, ‘यतिका वर्षदेखि एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न । आज त्यस प्रश्नको जवाफ दिएकी छु ।’ उनलाई प्रशंसक तथा फिल्मकर्मीहरुले वैवाहिक जीवनको शुभकामना दिइरहेका छन् । उनी श्रीमानसँग चाँडै नेपाल आउने बताइएको छ ।

कुनै समय नेपाली फिल्ममा जबर्जस्त उपस्थिति जनाएकी निरुताले करिब एक दशकपछि फिल्म ‘नाईं नभन्नू ल ५’बाट अभिनयमा पुनरागमन गरेकी थिइन् । मुख्य भूमिकामा भने उनको कमब्याक फिल्म ‘दाल भात तरकारी’ थियो ।  बसोबास मुम्बईमा भए पनि उनी नेपाल बाक्लै आउजाउ गर्छिन् ।

सन् १९९३ मा तुलसी घिमिरे निर्देशित फिल्म ‘दक्षिणा’बाट निरुताको अभिनय करिअर सुरु भएको थियो ।  उनले ‘मन मन्दिर’, बन्दकी’, ‘खानदान’, ‘आफन्त’, ‘आमाको आर्शिवाद’, ‘दुनियाँ’, ‘लहना’, ‘नाता रगतको’ लगायत डेढ सय बढी फिल्ममा अभिनय गरेकी छन् ।