ओस्कार कमिटीले माग्यो नेपाली चलचित्र

ओस्कार कमिटीले माग्यो नेपाली चलचित्र

काठमाडौं । नेपालस्थित ओस्कार कमिटीले ९६ औं ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधाका लागि फिल्म आह्वान गरेको छ । कमिटीले सोमबार वक्तव्य जारी गर्दै डिसेम्बर १, २०२२ देखि अक्टोबर ३१, २०२३ सम्म प्रदर्शन भएका फिल्मलाई प्रतिस्पर्धाका लागि आह्वान गरेको हो ।

ओस्कार कमिटी नेपालका सचिव चिरञ्जीवि गुरागाइले इच्छुक फिल्मले सेप्टेम्बर १५ सम्म फिल्म दर्ता गरिसक्नुपर्ने बताए । प्राप्त फिल्म हेरेपछि छानिएको कुनै एक फिल्मलाई अक्टोबर १ मा अमेरिका पठाइसक्नुपर्ने मिति तोकिएको छ ।

अन्तर्राष्ट्रिय फिचर विधाका लागि ओस्कारले केही मापदण्ड तय गरेको छ । जसअनुसार तोकिएको मितिभित्र प्रदर्शन हुनुपर्ने, सेन्सर भएको हुनुपर्ने, हलमा सात दिन चलेकै हुनुपर्ने, हलबाहेक अनुमतिप्राप्त ओटीटीमा स्ट्रिमिङ भएको भएपनि हुने लगायत छन् । यसबाहेक केही प्राविधिक मापदण्ड पनि तय गरिएको छ । आगामी ओस्कार अवार्ड मार्च १०, २०२४ मा अमेरिकाको लस–एन्जलसमा आयोजना हुँदैछ ।