मेलम्चीको बहाव कायमै, बाढीले सरस्वती माध्यमिक विद्यालय बगायो

मेलम्चीको बहाव कायमै, बाढीले सरस्वती माध्यमिक विद्यालय बगायो

काठमाडौं । अविरल वर्षाका कारण सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन मेलम्ची खोलाले बगाएको छ । सरस्वती मावि शुक्रबार बिहानदेखि नै बाढीको उच्च जोखिममा थियो। बाढीले बिहानै विद्यालयको शौचालय र निर्माणाधीन भागको पिलर बगाएको थियो । जोखिम उच्च भएपछि स्कुल बन्द गरी डेस्क, बेन्च लगायत सामान बिहानै जनप्रतिनिधि र प्रहरी मिलेर हटाइसकेका थिए ।

दिनभरि मेलम्चीले कटान गरेपछि राति ८ बजेतिर भने स्कुलको तल्लो पट्टिको भवन बगेको हो । यो स्कुल जिल्लाको पुरानो र प्रतिष्ठित मानिन्छ । बाढीका कारण मेलम्ची–हेलम्बु सडक ठाउँठाउँमा अवरूद्ध भएका छन्। मेलम्चीको बहाव कम नभएकाले सबैलाई सतर्क रहन वडाध्यक्ष बुद्धिमान तामाङले आग्रह गरेका छन् ।

मेलम्चीको बाढीले हेलम्बु गाउँपालिका–४ ग्याल्थुमका चार घर पनि उच्च जोखिममा परेका छन् । शुक्रबार बिहानैदेखि मेलम्चीले कटान सुरू गरेपछि भरतबहादुर कार्की, मुक्तिनाथ लामिछाने, छविरमन लामिछाने र सुरेश तामाङका घर उच्च जोखिममा परेको वडाध्यक्ष तामाङले जानकारी दिए ।

बाढी आएपछि ग्याल्थुम बस्तीका स्थानीयहरू टहरामा सरेका छन् । यसअघि ०७८ मा मेलम्चीमा आएको बाढी बस्तीमा पसेपछि सरकारले सुरक्षित स्थानमा टहरा बनाइदिएको थियो । टहरा बनाए पनि ३०÷३५ परिवार बस्तीमै बसिरहेको वडाध्यक्ष तामाङले बताए ।