काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन्।
बिहीबार भक्तपुरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोशी प्रदेशमा दाहाल र अध्यक्ष नेपालले जनजातीहरू भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका हुन्।
उनले कोशी प्रदेशमा आन्दोलन गर्नेहरूमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालका कार्यकर्ताहरू रहेको उल्लेख गरे।उनले द्वन्द्व भड्काउनका लागि दाहाल र नेपालले कार्यकर्ताहरू भिडाउने काम गरेको भन्दै नेकपा एमालेले द्वन्द्व मच्चिन नदिने बताए।
‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन्। उहाँहरूले साम्प्रदायिकता, उफ्रेका को छन् भन्दा राई, किराँत, लिम्बू भन्ने साथीहरू उफ्रिएका छन्। उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, मनाधवकुमार नेपाल। यी बाहुनले नुवकोटमा हुन्छ एउटा खेल साढे जुधाउने भन्ने। ती साढेको केही दुश्मनी नै छैन। भेटेको पनि होइन, कहिल्यै। आफ्नो आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन्’, उनले भने, ‘अरु छेउमा बसेर ताली बजाउँछन्। प्रचण्ड र माधव नेपालहरू त्यसै गरेर नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन्, त्यो कुरा हुन दिँदैन। नेपाली लड्नु हुँदैन। जनजातिका नाममा यी बाहुनले लडाएको हेर्नु त। जनता किन भिडाउनु हुन्छ। शासनमा बस्ने यस्ता विषयलाई ख्यालख्याल सोचिरहेका छन्। सजग हुनुपर्छ।’
अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा आफै संलग्न रहेको प्रमाणसँगै ट्याक्सीमा भएका अभियुक्तलाई भगाएर प्रमाणित गरेको बताए। उनले सुन पक्राउ गर्ने क्रममा सँगै ट्याक्सीमा रहेका हर्कबहादुर राईलाई बोलाएको बेला हाजिर हुनु भनेर सुन जम्मा पारिएका स्थानबाट अन्य व्यक्तिहरूलाई भगाउन लागेको बताए। उनले सुन तस्करी प्रकरणलाई लुकाउन गिरीबन्धु टि स्टेटमा आफ्नो संलग्न हुँदै नभएको कुरालाई झिकेर जनतामा भ्रम छर्ने काम भइरहेको बताए।