ललिता निवासको छानबिनमा सहयोग गर्न तयार छु : अध्यक्ष नेपाल

ललिता निवासको छानबिनमा सहयोग गर्न तयार छु : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले आफू पूर्व निर्धारित कार्यक्रमअनुसार युरोप भ्रमणमा गएका बेला माधव नेपाल भाग्यो भनेर समाचारहरु प्रकाशित भएकोमा चित्त दुखाएका छन् ।  सोमबार युरोपबाट नेपाल फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले माधव नेपाल भाग्ने खालको मान्छे नभएको प्रस्ट्याए । साथै उनले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताए । 

‘मैले बिराएको छैन, कुनै अपराध गरेको छैन, लेनदेन गरेको छैन । आत्तिएको पनि छैन तर अलिअलि चित्त दुखेको छ’, नेपालले भने, ‘बालुवाटार प्रकरणमा केही कमजोरी भएको छ भने त्यसको छानबिन होस्, मेरो सहयोगी भूमिका रहनेछ ।’ अध्यक्ष नेपालले आफूले कुनै अपराध नगरेकाले ललिता प्रकरणमा आफ्नो नाम जोडिए पनि संलग्नता नरहेको दाबी गरे । 

‘कतिपयले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल भाग्ने खालको मान्छे होइन । गोली खाँदा त नभाग्ने, राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्छे म । कुनै गल्ती अपराध र बदमासी नगरेको सन्दर्भमा ’, उनले भने, ‘कुनैपनि कानुनको प्रक्रिया अन्तर्गत प्रोसेसहरु अघि बढ्छन् ।’   

उनले आफू लतारिएर स्वदेश नफर्केको पनि बताए । आफू युरोप जाने तयारीमा रहनु र सर्वोच्चको आदेश काकतालि जस्तै भएको पनि उनले सुनाए । उनले देशको परिस्थितले गर्दा आफू दुई देशको भ्रमण छोट्याएर फर्किएको भन्दै कुनै खास खास बेलामा नेताहरुको महत्वपूर्ण भूमिका हुने बताए ।