जापानलाई स्तब्ध पार्दै स्विडेन विश्वकप महिला फुटबलको सेमिफाइनलमा

जापानलाई स्तब्ध पार्दै स्विडेन विश्वकप महिला फुटबलको सेमिफाइनलमा

स्विडेनले उपाधिको बलियो दावेदार रहेको पूर्वविजेता जापानलाई २–१ ले स्तब्ध पार्दै महिला विश्वकप २०२३ को सेमिफाइनल यात्रा तय गरेको छ ।

स्विडेनले अब अन्तिम चारको खेलमा स्पेनको सामना गर्नेछ । जापान सन् २०११ को विश्वकप विजेता पनि हो । जापान बाहिरिएसँगै यसपल्टको विश्वकपले नयाँ विश्व च्याम्पियन पाउने भएको छ । यसअघि विश्वकप जितेका सबै टिमको चुनौती यसपल्टको प्रतियोगितामा सकिएको छ ।

स्विडेनका लागि अमन्डा इलेस्टेडले ३२ औं मिनेटमा पहिलो गोल गरिन् । दोस्रो हाफको ५१ औं मिनेटमा फिलिपा एन्जेलडालले दोस्रो गोल थपिन् । उनले पेनाल्टीबाट गोल गरेकी हुन् ।

जापानका लागि होनोका हयासीले ८७ औं मिनेटमा एक गोल फर्काइन् । त्यसअघि जापानकी रिको युकी ७६ औं मिनेटमा पेनाल्टीबाट गोल गर्न चुकेकी थिइन् ।