नाउपा सुदुरपश्चिम सरकारमा जाने, यसरी जुट्यो सहमति...

नाउपा सुदुरपश्चिम सरकारमा जाने, यसरी जुट्यो सहमति...

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जाने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा सोमबार र मंगलबार गरी दुई पटक बालुवाटारमा बसेको मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीबीचको छलफलपछि नाउपा सरकार जान सहमत भएको हो ।  छलफलपछि २ वटा संसदीय समितिको सभापति, १ मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख सहित सरकारमा सहभागी हुन सहमति जुटेको पार्टीका संरक्षक रेशम चौधरीले जानकारी दिए । बिहिबार सुदुरपश्चिम सरकारले पूर्णता प्राप्त गर्ने समेत चौधरीले जानकारी दिएका छन् । 

यहाँ ४ वटा संसदीय समिति रहेको छ । भने उपसभामुखमा नेकपा एमालेकी कोइली देवी चौधरी रहेकी छिन् । भने, सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारी छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले यसअघि पाउने भनिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सो मन्त्रालय अन्तरगतको एक राज्यमन्त्री पाउने भएको हो । साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो । तर पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्रपछि रोकिएको थियो ।

यहाँ नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन् । २ जना सांसदलाई यसअघि नै संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी दिइसकेको छ । जसअनुसार बाँकी सांसदलाई जिम्मेवारी दिने तयारी गरिएको बताइएको छ ।