के छ कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोटमा ?

के छ कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोटमा ?

काठमाडौं । कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका स्रोतका अनुसार, ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन् ।

‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’

प्रहरीका अनुसार, उनले आमा र बुबालाई सम्बोधन गर्दै फेरि यही परिवारमा जन्मिन पाउँ समेत भनेका छन् । ‘उहाँले लेखेको विवरणमा कसैलाई आक्षेप लगाइएको छैन, बुबाआमादेखि साथी सर्कलहरुलाई सम्झिइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।

ताम्राकार २१ असारमा घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । लगत्तै उनको मोबाइललाई जाँचका लागि पठाइएको थियो । प्रहरी वृत्त, मालीगाउँमा उनी मृत भेटिएको भन्दै २१ असारको राति ११ बजे खबर पुगेको थियो ।

‘हाम्रो टोली पुगेर हेर्दा बाहिरबाट कसैको कोठामा इन्ट्रान्स भएको देखिएन, उनी एक्लै ढोका बन्द गरेर भित्र बसेका थिए’, मालिगाउँका एक प्रहरी अधिकृत भन्छन्, ‘उनको शवलाई निकालेर घरमा सर्च गर्‍यौं, त्यसक्रममा कुनै नोट वा त्यस्तो अरु कुनै वस्तु फेला पारेनौं ।’

घटनास्थलमा पुगेका अधिकृतहरुका अनुसार, भित्र परिवारका अन्य सदस्य र प्रहरीको प्रवेश हुँदा उनको मोबाइलमा गीत बजिरहेको थियो । उनले मोबाइल ‘फ्लाइट मोड’मा राखेर गीत बजाइरहेको पाइएको एक अधिकृत बताउँछन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमपछि परिवारले शव बुझेर अन्त्येष्टि गरेको थियो । त्यहीबीचमा नेपाल चलचित्र कलाकार संघले विज्ञप्ति निकालेर ताम्राकार मृत्युको विषयमा गम्भीर अभिव्यक्तिहरु बाहिर आएकाले त्यसबारे छानबिन गर्न माग गरेको थियो । साथै परिवारले पनि उनको आत्माहत्याबारे छानविनको लागि निवेदन दिएपछि प्रहरी अनुसन्धानमा जुटेको थियो ।