पार्टी कार्यालय खाली गर्न लिङ्देनलाई बालेनको चेतावनी

पार्टी कार्यालय खाली गर्न लिङ्देनलाई बालेनको चेतावनी

काठमाडौं । काठमाडौँ  महानगरपालिकाले धम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको छ । महानगरपालिकाले  माइकिङ गर्दै सोमबारभित्र पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको हो । मेयर बालेन शाहको निर्देशन बमोजिम शुक्रबार महानगर प्रहरीको टोली राप्रपाको कार्यालयमा माइकिङ गर्न पुगेको थियो ।

‘यस राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनु भएका पदाधिकारीज्यूहरु, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाइ खाली गराइदिनुहुन काठमाडौँ महानगरपालिका हार्दिक अनुरोध गर्दछ’, महानगरको टोलीले माइकिङमा भनेको थियो । हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले हटाउन लागेको हो । तर राप्रपाले नगरप्रहरीको टोलीलाई लिखितरुपमा यसबारे आफूहरुलाई दिन आग्रह गरेको छ । पार्टी कार्यालयका मुख्यसचिवले यसबारे लिखित दिन आग्रह गरेका हुन् । 

यसैबीच भवन भत्काउन महानगरले माइकिङ गरेसँगै राप्रपा आन्तरिक छलफलमा जुटेको छ । राप्रपाका एक नेताले पार्टी कार्यालयको भवन महानगरले भत्काउन नसक्ने बताए । उनले यसबारे आफूहरु छलफलमै रहेको र के गर्ने भन्नेबारे छिट्टै निकास निकालिने बताए ।