नेकपा एमालेले तोक्यो प्रदेश अधिवेशनको मिति, जिल्ला र स्थानीय तहको कहिले ?

नेकपा एमालेले तोक्यो प्रदेश अधिवेशनको मिति, जिल्ला र स्थानीय तहको कहिले ?

काठमाडौँ । नेकपा (एमाले) ले प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ । उनका अनुसार सम्बद्ध प्रदेश कमिटीको बैठकले आआफ्ना प्रदेशको अधिवेशन तोकेका हुन् ।

कोशी प्रदेशको आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको असोज ५ र ६ गते जनकपुरमा, बागमतीको असोज ८ र ९ गते काठमाडौँमा अधिवेशन हुने गौतमले बताए । विभागका अनुसार लुम्बिनीको भदौ १६ र १७ गते बुटवलमा, कर्णालीको भदौ २९ र ३० गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको भदौ २२ र २३ गते धनगढीमा अधिवेशन तोकिएको छ । त्यस्तै गण्डकी प्रदेशले यही साउन २२ गते बस्ने बैठकले अधिवेशन तोक्ने एमाले नेताहरुले बताएका छन् । 

पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरिसक्ने एमाले पार्टी कार्यालयले जनाएको छ । सदस्यता अद्यावधिक गरिसकेपछि निर्धारित समयमा नै प्रदेश कमिटीका अधिवेशन गर्ने प्रचार विभागले जनाएको छ । पार्टीले एक वर्षभित्र प्रदेश, जिल्ला र पालिका तहको अधिवेशन गर्ने बताईएको छ । 
एमाले नेताहरुका अनुसार माघमा स्थानीय तह र चैतमा जिल्ला कमिटीको अधिवेशन गर्ने तयारी भइरहेको छ ।