नवौँ महिला विश्वकप : न्युजिल्यान्ड र नर्वेबीच आज उद्घाटन खेल

नवौँ महिला विश्वकप : न्युजिल्यान्ड र नर्वेबीच आज उद्घाटन खेल

काठमाडौँ । फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण बिहीबार उद्घाटन हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल आयोजक न्युजिल्यान्ड र नर्वेबीच अकल्यान्डमा खेलिने छ । पहिलो दिन बिहीबार नै आयोजक अस्ट्रेलिया र आयरल्यान्डबीच सिड्नीमा अर्को खेल हुनेछ । 

महिला विश्वकपको नवौं संस्करणमा सहभागी टोलीको संख्या पनि बढाइएको छ । अघिल्लो महिला विश्वकपमा २४ वटा राष्ट्रले भाग लिएका थिए । नवौं संस्करणमा भने सहभागी टोलीको संख्या बढाएर ३२ पुर्याइएको छ । 

महिला विश्वकपको नवौं संस्करणमा एसियाबाट ६ राष्ट्रको सहभागिता रहेको छ । अफ्रिकाबाट चार राष्ट्र छनोट भएका छन् । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट चार राष्ट्र सहभागी हुनेछन् । दक्षिण अमेरिकाबाट तीन, ओसेनियाबाट एक र युरोपबाट ११ राष्ट्र सहभागी हुँदैछन् । थप तीन राष्ट्रको टुंगो भने इन्टर कन्फिड्रेसन प्ले अफ प्रतियोगिताबाट लागेको हो । 

नवौं विश्वकपको समूह ‘ए’ मा न्युजिल्यान्ड, नर्वे, फिलिपिन्स र स्विट्जरल्यान्ड छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्यान्ड, नाइजेरिया र क्यानडा रहेका छन् । समूह ‘सी’ मा स्पेन, कोस्टारिका, जाम्बिया र जापान परेका छन् । समूह ‘डी’ मा इङ्ल्यान्ड, हाइटी, डेनमार्क र चीन छन् । 

यसैगरी समूह ‘ई’ मा अमेरिका, भियतनाम, नेदरल्यान्ड्स र पोर्चुगल छन् । समूह ‘एफ’ मा फ्रान्स, जमैका, ब्राजिल र पानामा रहेका छन् । समूह ‘जी’ मा स्विडेन, दक्षिण अफ्रिका, इटाली र अर्जेन्टिना रहेका छन् । समूह ‘एच’ मा जर्मनी, मोरक्को, कोलम्बिया र दक्षिण कोरिया रहेका छन् । 

समूहगत चरणपछि नकआउट चरणको खेल हुनेछ । पहिलो चरणको खेलपछि प्रत्येक समूहबाट दुई–दुई टोली प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रिक्वार्टरफाइनलबाट आठ टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि क्रमशः सेमिफाइनल र फाइनल खेल हुनेछ । 

महिला विश्वकपको नवौं संस्करणका खेलहरु अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न १२ वटा सहरमा खेलाइने भएको छ । यसअघि महिला विश्वकपका खेलहरु यति धेरै सहरमा खेलाइएको थिएन । यस पटक महिला विश्वकपका लागि विश्व फुटबल महासंघ (फिफा) ले पुरस्कार राशीमा पनि उल्लेख्य बृद्धि गरेको छ । 

यस पटक रुसलाई भने छनोट प्रतियोगिता नै खेल्न दिइएन । सन् २०२२ को डिसेम्बरमा रुसमाथि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध हटाइएको थियो । त्यसअघि प्रतिबन्धित औषधि प्रयोग गरेका कारण रुसमाथि प्रतिबन्ध लगाइएको थियो । तर, प्रतिबन्ध हटाइएपछि पनि रुसलाई महिला विश्वकपको छनोट खेल्न दिइएन । रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै युरोपेली फुटबल महासंघ (यूईएफए) ले रुसलाई विश्वकप छनोट खेल्न नदिएको हो । नवौं महिला विश्वकपको फाइनल खेल भने अस्ट्रेलियाको सिड्नीस्थित ओलम्पिक रंगशालामा खेलाइने कार्यक्रम रहेको छ ।