कहाँ पुग्यो सारुकको निधनबारे छानबिन ?

कहाँ पुग्यो सारुकको निधनबारे छानबिन ?

काठमाडौं । अभिनेता सारुक ताम्राकारको आत्महत्याको १२ दिन पुगे पनि त्यसको कारणबारे अहिले पनि अनेक शंका तथा उपशंका भइरहेका छन् । उनलाई आत्महत्या गर्न वाध्य पार्ने केही पक्ष भएको भन्ने अड्कलबाजीहरू भइरहेका छन् ।

असार २१ गते बिहीबार राति ११ बजे उनले प्लास्टिकको पासो लगाएर आत्महत्या गरेका थिए । त्यसलगत्तै उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल टिचिङ लगिएको थियो । पोष्टमार्टमका क्रममा भने हत्या वा कुनै अन्य घटनाको शंका नदेखिएको शिक्षण अस्पतालले जनाएको छ । 

सारुकको आत्महत्यालाई लिएर सिने जगतभित्र तरंग सिर्जना भएको छ । त्यसैले केही नायिकाले उनी आत्महत्यासम्म पुग्नुको कारण के हो पत्ता लगाउन माग गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय काठमाडौंमा ज्यान सम्बन्धी कसुरमा उजुरी परेको छ । एक नायिकासँगको सम्बन्धमा सारुक रहेको र उनकै कारण सारुक आत्महत्या गर्ने अवस्थानमा पुगेको धेरैले आरोप लगाइरहेका छन् । तान्त्रिक विद्या जानेका गुरुको सम्पर्कमा समेत उनलाई पु¥याइएको आरोप छ । तान्त्रिक गुरुकोमा पुगेर बुटी बाँधेको भने निर्देशक राजीव गुरुङले बताएका छन् ।

सारुकले ‘ह्यासट्याग माया’ सिनेमाको छायांकन गरेर फर्किएको साँझ आत्महत्या गरेका थिए ।  यो चलचित्रको निर्देशन राजीव गुरुङले गरिरहेका थिए । उनले सारुक डिप्रेसनमा नरहेको पनि स्पष्ट पारेका छन् । प्रहरीले भने फरेन्सिक ल्यावबाट रिपोर्ट नआएसम्म केही भन्न नसकिने बताएको छ । 

यता चलचित्र कलाकार संघले सम्बन्धित निकायसँग माग गरेको छ । आइतबार संघको कार्यसमिति बैठकपश्चात् अध्यक्ष मोहन निरौलाले जारी गरेको विज्ञप्तिमा कोही दोषी देखिए कारबाही समेत गर्न माग गरिएको छ ।