एमाले सचिवालय बैठकले गर्‍यो यस्तो निर्णय

एमाले सचिवालय बैठकले गर्‍यो यस्तो निर्णय

काठमाडौँ । नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक ढङ्गले गठन गरेको भन्दै तत्काल भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको छ । 

पार्टी कार्यालय च्यासलमा आज बसेको एमाले सचिवालय बैठकले वर्तमान सत्ता गठबन्धनले संविधानको उलङ्घन गर्दै कोशी प्रदेशमा सरकार गठन गरेको भन्दै तत्काल भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको हो । सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान वितरित भएको र यो संसदीय अभ्यासमाथिको नाङ्गो प्रहार भएको एमालेको ठहर छ ।

बैठकले मिटर ब्याज सम्बन्धी विधेयक एमालेले रोकेको भन्ने भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अविलम्ब नयाँ विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।  बैठकले सत्ता गठबन्धनले विभिन्न स्वायत्त र गैर राजनीतिक संस्थाहरूमाथि निरन्तर हस्तक्षेप गरेको र संस्थाहरूलाई आफ्नो नियन्त्रणमा राख्ने क्रियाकलाप गर्दै आएको भन्दै भर्त्सना गरेको छ । 

त्यस्तै उपमहासचिव ज्ञवालीले साउन २ देखि ६ गतेसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको भ्रमण गर्ने तय भएको जानकारी दिनुभयो भने बैठकले पार्टी सदस्य नवीकरणको म्याद असार मसान्तभित्र सम्पन्न हुने भएकाले साउन १५ भित्र सबै विवरणलाई अद्यावधिक गरेर प्रमाणीकरण गर्ने निर्णय गरेको बताए ।