एसीसी इमर्जिङ टिम्स एसिया कप : पाकिस्तानसँग नेपाल पराजित

एसीसी इमर्जिङ टिम्स एसिया कप : पाकिस्तानसँग नेपाल पराजित

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए ले नेपाललाई ४ विकेटले हराएको छ । श्रीलङ्कामा चलिरहेको प्रतियोगितामा नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तानले ३२ ओभर पाँच बलमा ६ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानका लागि तैयव ताहिरले ५१ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए । यसअघि कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन बनायो । नेपालका लागि सोमपाल कामीले ७५ रन बनाए ।

नवौँ विकेटका लागि सोमपालले प्रतिश जिसीसँग मिलेर ७० बलमा ५८ रन बनाए ।  अर्जुन साउद र कुशल मल्लले समान १७–१७ रन बनाए । गुलसन झाले १३ र ओपनर आसिफ शेख १२ रन बनाए । अरु नेपाली ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए । जितसँगै पाकिस्तानसमूह बीको शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल दोस्रो स्थानमा रहेको छ ।

नेपालले दोस्रो खेलमा सोमवार भारतसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधवार यूएईसँग खेल्नेछ ।