माओवादी केन्द्रकाे सम्मेलन होइन, महाधिवेशन हो : महरा

माओवादी केन्द्रकाे सम्मेलन होइन, महाधिवेशन हो : महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको छ । आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘यसअघिसम्म पार्टीको सम्मेलन भन्दै आएकोमा हिजो बसेको स्थायी कमिटीले महाधिवेशन बनाउने भनि गरिएको उक्त प्रस्तावलाई आज अनुमोदन गरेको हो’ महराले भने ‘हामीले गर्ने भनिएको राष्ट्रिय सम्मेलन राष्ट्रिय महाधिवेशन हुन्छ ।’

महाधिवेशनका लागि नेपाल भित्रका सबै पार्टीहरुलाई खबर गरिएको भन्दै महाधिवेशन पाँच दिन जति हुनसक्ने महराले अनुमान मात्रै गरे । महाधिवेशनको उद्घाटन आइतबार दिउँसो ३ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदैछ।

यो पार्टीको आठौं राष्ट्रिय महाधिवेशन हुने र सो प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको उनले जानकारी दिए । 

माओवादीले २०६९ सालमा सातौं महाधिवेशन आयोजना गरेको थियो ।

यसअघि माओवादीले पहिलो राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । सोही बमोजिम देशभरबाट प्रतिनिधि पनि चयन गरेको थियो ।