बालिकालाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने दुई पक्राउ

बालिकालाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने दुई पक्राउ

जनकपुरधाम । जनकपुरको एक होटलमा बालिकालाई तीन दिनसम्म बन्धन बनाएर सामूहिक बलात्कार गरेको आरोपमा धुनषा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धनुषाको बिदेह नगरपालिका वडा नंं ४, ढाडीका ३० वर्षीय जितेन्द्रकुमार महरा र सोही स्थानका ३२ वर्षीय अरुणकुमार महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  

प्रहरीले जितेन्द्रलाई जनकपुरबाट र अरुणलाई बिदेह नगरपालिकाबाट नियन्त्रणमा लिएको हो । 

बेपत्ता भएको तीन दिनपछि घर आएकी बालिकाले घटनाबारे जानकारी गराएपछि बालिकाकी सानीआमा पर्नेले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

जाहेरीकै आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

आरोपितहरूले भतिजी नाता पर्ने बालिकालाई जनकपुरको शिवचौकस्थित एक होटलमा बन्धक बनाएर असोज ३ गतेदेखि ६ गतेसम्म जबरजस्ती करणी गरेको आरोप छ । 

उनीहरुलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

बालिकाकी आमाको मृत्यु भइसकेको र बुवाको मानसिक सन्तुलन ठिक नभएको स्थानीयले जानकारी दिएको छ ।