बेलायतमा नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि थप प्रतिबन्ध घोषणा, इजरायलमा पनि यस्तै नियम

बेलायतमा नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि थप प्रतिबन्ध घोषणा, इजरायलमा पनि यस्तै नियम

लन्डन : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ । प्राप्त समाचार अनुसार बेलायतले हाल जारी भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो । त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी गरिएको छ ।

बेलायत आउने हरेक यात्रुले २ दिनयताको स्वास्थ्य रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्ने र बेलायत पुगेपछि पनि पीसीआर टेष्ट गरिने छ । यसरी गरिएको परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएमा आफै आइसोलेसनमा बस्नुपर्ने र नेगेटिभ रिपोर्ट आएपछि मात्र बाहिर निस्किन पाउने बताइएको छ । नयाँ भाइरस बेलायतमा देखिएको यहाँका स्वास्थ्य मन्त्री सजिद जाभिदले जानकारी दिएका छन् ।

यो भाइरस संक्रमण देखिएका २ जनालाई आइसोलेसनमा राखिएको र उनीहरुको थप स्वास्थ्य अनुसन्धान जारी रहेको पनि उनले बताए ।

बेलायतका प्रधानमन्त्रीले यो भाइरसको प्रभाव अहिलेको भन्दा निकै खतरनाक रहेको भन्दै थप प्रतिबन्धहरुका बारेमा जानकारी दिएका छन् । हाललाई विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पीसीआर परीक्षणलाई अनिवार्य गरिने जानकारी दिए । साथै बेलायतमा यात्राका क्रममा तथा सार्वजनिक यातायातमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने नियम बनाइएको छ ।
 
यसैगरी, इजरायलले पनि ओमिक्रोन भेटिएपछि आफ्ना नागरिकलाई अफ्रिकी देशहरुको भ्रमणमा प्रतिबन्ध लगाएको छ । बिहीबार इजरायलले ७ वटा अफ्रिकी देशलाई रातो सूचीमा राखेर ती देशको यात्रामा प्रतिबन्ध लगाएको हो । त्यस्तै इजरायलले हाल करिब ५० वटा अफ्रिकी देशहरुमा रहेका आफ्ना नागरिकहरुलाई पनि ७ दिनभित्र स्वदेश फर्किन भनेको छ । 
 
यो नयाँ भेरियन्ट विश्वका विभिन्न देशहरुमा देखिन थालिसकेको समाचारहरु आएका छन् । यो भेरियन्ट अहिलसम्मकै सबैभन्दा बढी खतरनाक पाइएको अनुसन्धानबाट देखिएको छ । यसका बारेमा थप अनुसन्धानहरु भइरहेका छन् । 
 
रासस–सिन्ह्वा