काठमाडौं । नेकपा (एमाले)को चितवनमा जारी १० औं महाधिवेशनले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एउटै मञ्चमा उभ्याएकाे छ ।
झण्डै पाँच महिनापछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली पहिलो पटक एकै मञ्चमा सँगै देखिएका छन् । मञ्चमा प्रवेश गरेपछि आयोजकले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीलाई माला लगाइदिएका थिए ।
यसअघि गत असार २९ गते देउवा संसदबाट प्रधानमन्त्री निर्वाचित भएपछि देउवालाई ओलीले बधाई दिएका थिए। त्यसपछि यी दुई नेताहरूको भेट भएको थिएन ।
हाल देउवाले गठबन्धनको नेतृत्व गरेका छन् भने उनी प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीसँग भेट भएको थिएन ।
महाधिवेशनमा निमन्त्रणा गरिएपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गएका छैनन्।