काठमाडौं । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा पार्टीको निमन्त्रणालाई स्वीकार गरी ४ विभिन्न मुलुकका १५ जना विदेशी पाहुनाले उपस्थिती जनाउने भएका छन् ।
बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एमालेको विदेश मामिला प्रमुख तथा महाधिवेशनका अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले सो जानकारी दिएका हुन् । चार विभिन्न मुलुकका ८ राजनीतिक दलका १५ जना अतिथिहरुले महाधिवेशनमा उपस्थिती हुने जनाइएको छ ।
भट्टराईका अनुसार भारतबाट ७ जना, कम्बोडियाबाट ४ जना, बंगलादेशबाट ३ जना र श्रीलंकाबाट १ जना अतिथि महाधिवेशनमा सहभागी हुनेछन् ।
साथै अन्य २५ मुलुकबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको पनि भट्टराईले जानकारी दिए ।
विदेशी पाहुनाहरूलाई काठमाण्डौमा रहँदा होटल सोल्टीमा बसोवासको व्यवस्था गरिएको छ भने बिहीवार साँझ समितिका संयोजक डा. भट्टराईले आतिथिहरुका लागि रात्रिभोजको आयोजना गर्नेछन् । विदेशी पाहुनाहरूले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै शुभकामना पनि दिने अतिथि सत्कार समितिले जनाएकाे छ ।
मंसिर १२ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुसँग संयुक्त रुपमा ब्रेकफास्ट मिटिङ गर्ने कार्यक्रम तय भएको छ । विदेशी पाहुनाहरुलाई चितवनको ग्रीन मेनसन जंगल रिर्सोटमा बसोबासको व्यवस्था मिलाइएको छ ।
महाधिवेशनमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई निमन्त्रणा गरिएको भए पनि अहिलेसम्म प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यक्रममा सहभागी हुने जानकारी दिएका दिए ।