काठमाडौं । नेकपा एमालेको आगामी अध्यक्षको रुपमा केपी शर्मा ओली नै दोहोरिने निश्चित प्राय भएको बेला उनले भने आफू अध्यक्षमा उठ्ने नउठ्ने टुंगो नभएको बताएका छन् ।
मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रियाकार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी महाधिवेशनमा आफू अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय नगरिसकेको बताए ।
अध्यक्ष पदका लागि लाड्ने भन्दै यसअघि नै उपाध्यक्ष भीम रावलले घोषणा गरिसकेका छन् । यस विषयमा अध्यक्ष ओलीले भने रावलले आफूलाई चुनौती नदिएको बताएका छन् ।
रावलले आफूप्रति सम्मान देखाएको र थकाइ लागेको भए म उठ्छु मात्र भनेको उनले बताए । रावलको सुझावबाट आफू प्रभावित भएको पनि बताए । उनले अध्यक्षमा अरुलाई नउठ्नु भन्न नमिल्ने भन्दै ‘मैले उठ्ने टुंगो गरेको छैन । उठ्ने टुंगो गरेँ भने निर्विरोध छोड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ ।’ ओलीले भने ।
नेकपा एमाले लोकतान्त्रिक पार्टी भएकाले उम्मेदवारीको सन्दर्भमा कुनै प्रकारको जोरजुलुम वा दबाब नहुने उनको भनाइ छ ।