न्यायपालिका विवाद गिजोलियो, अब संसदबाट निकास खोज्नुपर्छ : डा. भट्टराई

न्यायपालिका विवाद गिजोलियो, अब संसदबाट निकास खोज्नुपर्छ : डा. भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डाक्टर डा. बाबुराम भट्टराईले न्यायपालिकाको विवाद गिजोलिएर गएको टिप्पणी गरेका छन् । उनले न्यायापालिकामा देखिएको विवाद वृहत बन्दै गएकाले अब उनीहरुले समाधान गर्न नसक्ने धारणा व्यक्त गरे । 

एक हप्तादेखि गृह जिल्ला गोरखामा रहेका भट्टराईले आज पत्रकार भेटघाटका क्रममा यस्तो बताएका हुन् । उनले न्यायपालिकाले आफूभित्रको समस्या आफैँले हल गर्न सक्ने अवस्था नरहेको बताए ।

अब न्यायालयको विवाद त्यही समाधान हुन नसक्ने भन्दै संसदबाट निकास खोज्नुपर्ने धारणा व्यक्त गरे । सुरुवाती चरणमा न्यायपालिका आफैँले आफूभित्रको विवादको हल गरोस् भन्ने सोचेको भएपनि अब त्यो सम्भव नभएको डा.भट्टराईले बताए । 

उनले भने, ‘व्यवस्थापिका कार्यपालिका र न्यायपालिका भन्दा माथि भएकाले सुरुवाती चरणमा त्यहाँ देखिएको समस्याको हल त्यहीबाट निकालिनुपर्ने सोच भएपनि अहिले समस्या गिजोलिएर गएको छ । त्यसैले अब संसदबाट समाधान खोजिनुपर्छ ’

न्यायपालिकाको समस्या व्यवस्थापिकाले हल गर्नु भनेको प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर हटाउनु मात्रै भने नरहेको स्पष्ट पारे । उनले विभिन्न ढङ्गले सहजीकरण गर्न सकिने भन्दै ऐन, कानुनका हिसाबले अप्ठ्यारा छन् भने व्यवस्थापिकाले हल गर्न सकिने धारणा व्यक्त गरे । त्यहाँभित्रको मुख्य समस्या बझेर विधि र संवैधानिक कानुनले कहाँ समस्या पारेको छ भन्ने कुराहरू बुझेर व्यवस्थापिकामार्फत हल गर्नुरहेको बताए । 

राज्यको तीन वटै अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका यसरी सङ्कटग्रस्त हुनु शुभ सङ्केत नरहेको बताए । राज्यका तीन अङ्गले एकले अर्कालाई हस्तक्षेप गर्ने क्रम विगतदेखि नै चल्दै आएको भन्दै समस्याग्रस्त अवस्थामा एकले अर्कालाई सहयोग गर्नुपर्ने बताए ।