माघ १९ बाट प्रदर्शनमा आउँदै ‘म यस्तो गीत गाउँछु २’

माघ १९ बाट प्रदर्शनमा आउँदै ‘म यस्तो गीत गाउँछु २’

काठमाडौं । अभिनेत्री पुजा शर्मा र अभिनेता पल शाह स्टारर फिल्म ‘म यस्तो गीत गाउँछु’ आगामी माघ १९ मा रिलिज हुने भएको छ । डेढ वर्ष अघि फागुन ३० मा प्रदर्शनका लागि तयार रहेको फिल्म कोभिड महामारीका कारण रिलिज हुन सकेको थिएन ।

फिल्मका निर्देशक सुदर्शन थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी माघ १९ मा रिलिज हुने जानकारी दिएका छन् । ‘कुनै एक चलचित्र मात्र नभई पुरै नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । सोही उद्देश्यका साथ नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ यसै वर्षको माघ १९ मा प्रदर्शन गर्ने निर्णय गरेका छौं’, सुदर्शनले लेखेका छन् ।

सुदर्शनका अनुसार फिल्मलाई उपत्यकाबाहिर एफडी कम्पनी र उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र जीजीए इन्टरटेनमेन्टले वितरण गर्दैछन् । फिल्ममा दिनेश डिसी, हरिहर शर्मा, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकायालगायतको पनि अभिनय छ । सुदर्शन थापा र पुजा शर्माले निर्माण गरेको फिल्ममा सुदर्शन थापाकै कथा, सौरभ लामाको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी छ ।