उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं : निर्वाचन आयोगले मंसिर १४ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ । चुनावी कार्यतालिका अन्तर्गत आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि मनोनयन पत्र दर्ता गरेका मध्येका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं २, प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नं १ को १, दाङ निर्वाचन क्षेत्र नं ३ को २ र बागलुङ क्षेत्र नं २ को २ का लागि उपचुनाव हुन लागेको हो । गत विहीवार उम्मेदवारले मनोनयन पत्र दर्ता गरेका थिए । आगामी मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले उपचुनावका लागि २४७ वटा मतदान स्थल र ५३७ वटा मतदान केन्द्र तोकेको छ । ४ लाख ५४ हजार ११४ जना मतदाताले उपचुनावमा भाग लिनेछन् । आयोगले गएको ८ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । उपचुनावको लागि आउँदो मंसिर ५ देखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने आयोगको तयारी छ ।