३ बालिकामाथि सामुहिक बलात्कार गर्ने ८ पक्राउ, एक अझै फरार

३ बालिकामाथि सामुहिक बलात्कार गर्ने ८ पक्राउ, एक अझै फरार

सिन्धुली । सिन्धुलीमा दशैको टिकाका दिन तीन बालिकालाई सामुहिक बलात्कार गर्नेमध्ये ८ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आरोपित अर्का एक भने अझै फरार छन् । 

पक्राउ पर्नेहरुमा कमलामाइ नगरपालिका ५ बोजेका २० वर्षीय दिपक मगर, २३ वर्षीय अर्जुन मगर, २३ वर्षीय धनबहादुर बम्जन, २१ वर्षीय मिलन लामा र आकाश मगरलाई प्रहरीले महोत्तरीको बर्दिवासबाट पक्राउ गरेको जनाएको छ । त्यस्तै २२ वर्षीय हिम लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरभने घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । 

घटनाका आरोपितहरुलाई भागाउन सहयोग गरेकोमा प्रहरीले कमलामाई नगरपालिका ५ बोजेकै संजीव मगर, प्रेम श्रेष्ठ, शिव देवकोटा, सुमन थापा, मेघबहादुर श्रेष्ठ र ईश्वर आले पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए । अर्का आरोपी विश्व राई भने अझै फरार रहेको र उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

असोज ३० गते राति आफन्तकोमा टिका लगाएर घर फर्किने क्रममा कमलामाई नगरपालिका–५ को लब्दाह खोलामा  तीन किशोरीहरु बलात्कृत भएको थिए । उनीहरुका आफन्तले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको हो । बलात्कृत हुने किशोरीहरू १५, १६ र १७ वर्षका छन् ।