ओलीका कारण मुलुकको कायापलट गर्ने शक्ति गुमेकाे आरोप

ओलीका कारण मुलुकको कायापलट गर्ने शक्ति गुमेकाे आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश सभा सांसद राजेन्द्र पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण मुलुककाे विकासमा कायापलट गर्ने शक्ति गुमेको आरोप लगाएका छन् ।

बिहीबार बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव छलफलका क्रममा नेता पाण्डेले यस्तो आरोप लगाएका हुन् । 

उनले भने, ‘प्रतिनिधिसभामा १७४ सिटसहित कम्युनिस्टहरू बहुमत नजिक थिए । आठ सांसदको संख्या थप हुँदा संविधान बदल्न सक्ने तागत हुन्थ्यो ।’ उनले थपे, ‘यो मुलुकका कायापलट गर्न सक्ने शक्ति थियो, देशमा ठूलाठूला योजनाहरू निर्माण गर्न सक्ने क्षमता हुन्थ्यो । त्यो सबै ओलीका कारण सकियो ।’

‘बहुमतको सरकार भएकै बेला संसद दुई पटकसम्म विघटन भयो, निकै गलत काम भयो ।’ उनले भने । पाण्डेले मुख्यमन्त्री शाक्यले ओलीको कदमलाई साथ दिँएकोमा दुःख व्यक्त गरे । ‘हिजो ओली प्रवृत्तिकै विरोधमा हामी एकै ठाउँ थियौ, हामील डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका थियौँ,’  मुख्यमन्त्रीतिर इंगित गर्दै ‘आज हामी नै एकअर्काेको विरोधमा छौं ।’

नेता पाण्डेले बागमती प्रदेशमा एमालेबाहेक गठबन्धनका ५९ सांसदको साथ रहेको दाबी गरेका छन् ।