बाढी पहिरोबाट मृत्यु हुनेको संख्या एक सय बढी, ४१ बेपत्ता

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या एक सय बढी, ४१ बेपत्ता

काठमाडौं । गत आइतबारदेखि अविरल परेको वर्षाका कारण देशभर आएको बाढी, पहिरो र डुवानमा परी एक सय बढीले ज्यान गुमाएका छन् । बिहीबारसम्मको तथ्यांक हेर्ने हो भने बाढी पहिरोमा परी १ सय १ जनाको मृत्य भएको छ । 

जसमध्ये प्रदेश १ मा सबैभन्दा बढी ६० जना, सुदूरपश्चिम प्रदेशमा ३१ जना, कर्णाली प्रदेशमा सात जना र वाग्मती प्रदेशमा एक गरी अहिलेसम्म एक सय एक जनाको मृत्यु भएको हो ।

त्यस्तै प्रदेश १ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन् ।
हालसम्म बाढी पहिरो परी ४१ बेपत्ता छन् । बाढी–पहिरोमा परि प्रदेश १ मा १३ जना, प्रदेश २ मा एक जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

बाढीले हालसम्म २ हजार २ सय ३२ घर डुबानमा परेका छन् । 
४९ वटा घर, आठ वटा गोठ, ६ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको तथ्याङ्क छ । बाढी, पहिरोबाट एक सय ३९ पशु चौपाया मरेका छन् ।

बाढी पहिरोका कारण हालसम्म १ सय ७७ घर परिवार विस्थापित भएको गृहमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।