बाढी पहिरोका कारण डोटीमा १४ को मृत्यु

बाढी पहिरोका कारण डोटीमा १४ को मृत्यु

डोटी । गत आइतबारदेखि निरन्तर परेको वर्षाका कारण देशव्यापी बाढी र पहिरोको विपद आईलागेको छ । देशभर हालसम्म ५० जनाले ज्यान गुमाइसकेको गृहमन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

सुदूरपश्चिमको डोढीमा बुधबारसम्म डोटीमा १४ जनाले ज्यान गुमाइसकेका छन् । वर्षासँगै आएको बाढी–पहिरोका कारण सायल गाउँपालिकामा ६ जना, जोरायल गाउँपालिकामा ६ जना, बोगटान फुडसिल गाउँपालिकामा एक जना र अर्का एक जनाको शिखर नगरपालिकामामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

प्रहरीका अनुसार सायल गाउँपालिकामा घरमा सुतिरहेको अवस्थामा माथिबाट पहिरो आई मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा १४ बर्षीय सागर कुन्जेडा, ११ बर्षीय आशिष कुन्जेडा रहेका छन् । त्यसतै सोही गाउँपालिका–१ का ७४ बर्षीष वीरे रोकायाको खोलाले बगाउँदा मृत्यु भएको हो । त्यस्तै सोही गाउँपालिका वडा नं. ५ का ५८ बर्षीय लहरे लुहार, ५८ बर्षीय हिरुवा लुहार र ७५ बर्षीय देव डुम्रेलको पनि पहिरोमा परी मृत्यु भएको हो । 

जोरायल गाउँपालिका–३ का ७३ बर्षीय जोगी सार्की, ६१ बर्षीया झुपरी सार्की, सोही गाउँपालिका–४ का शेरवहादुर बिक, मोहन बिक, पवित्रा बिक र सोही गाउँपालिका–१ का सचिन बिकको पनि पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । 

शिखर नगरपालिका–११ की ३५ बर्षीया मन्धरा बलायरको पहिरोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । यता बोगटान फुड्सिल गाउँपालिका–५ का चन्द्रा नेपालीको पनि मृत्यु भएको छ ।