आईपीएलको उपाधि चेन्नईलाई, फाइनलमा कोलकाता २७ रनले पराजित

आईपीएलको उपाधि चेन्नईलाई, फाइनलमा कोलकाता २७ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को उपाधि चेन्नई सुपर किंग्सले  जितेको छ। शुक्रबार राति सम्पन्न फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले चौथो पटक च्याम्पियन बनेको हो। 

जितका लागि १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रनमा समेटियो। कोलकाता ओपनर सुभमन गिलले ४३ बलमा ६ चौकासहित ५१ रन बनाए भने अर्का ओपनर वेंकटेश ऐरले ३२ बलमा ५ चौका र ३ छक्का सहित ५० रनमा आउट भए।

कोलकाताका अन्य खेलाडीले रामा्र प्रदर्शन  गर्न सकेनन्। नितिश राणा शून्य, सुनिल नाराायण २, कप्तान ओईन मोर्गन ४, दिनेश कार्तिक ९ र सकिब अल हसन शून्यमा आउट भए। तल्लोक्रमका शिवम माभीले १३ बलमा १ चौका र २ छक्का सहित २० रन बनाए भने लोकी फर्गुसनले १८ रन बनाए।

चेन्नईका शार्दूल ठाकुरले ३ विकेट लिँदा रविन्द्र जडेजा र जोश हेजलवुडले २–२ विकेट लिए। डवेन ब्राभो र दीपक चाहरले १–१ विकेट लिए।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो। चेन्नईका ओपनर फाफ डु प्लेसिसले ५९ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ८६ रनको योगदान दिए। मोईन अली २० बलमा २ चौका र ३ छक्कासहित ३७ रनमा अविजित रहे।

चेन्नईलाई अर्काओपनर ऋतुराज गायकवाडले ३२ रन बनाउँदा  रोबिन उथप्पाले १५ बलमा ३ छक्का सहित ३१ जोडे। कोलकता स्पिनर सुनिल नारायणले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए भने शिवम माभीको नाममा एक विकेट रह्यो।

यसअघि चेन्नई २०१० मा मुम्बई इन्डियन्सलाई पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको थियो। २०११ मा चेन्नईले बैंग्लोरलाई पराजित गर्दै लगातार उपाधि जितेको थियो। २०१८ मा हैदराबादलाई पराजित गर्दै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको थियो। चेन्नई २००८, २०१२, २०१३, २०१५ र २०१९ मा उपविजेता बनेको थियो।

चेन्नई लिगमा दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । क्वालिफायरमा चेन्नईले शीर्षस्थानको दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थिया। कोलकताले अन्तिम चारमा रहेर एलिमिनेटर खेलेको थियो ।