साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीचको खेल आज

साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीचको खेल आज

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशको सामना गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ।

बंगलादेशविरुद्धको आजको खेल जितेमा वा बराबरीमात्र गरेमा नेपाल फाइनल प्रवेश गर्नेछ। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन।

बंगलादेशविरुद्ध जितकै लागि खेल्ने नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठ बताउँछन्। राउण्ड रोबिन लिगको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । यस्तोमा नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता रहेको छ ।

नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो। माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो। आइतबार भारतसँग नेपाल १–० ले पराजित भएको थियो।