एभरेष्ट प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले जित्यो

एभरेष्ट प्रिमियर लिग  टी-ट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले जित्यो

काठमाडौं ।एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले जित हात परेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधि हात पारेको हो । चितवनले
पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ ।

 चौथो संस्करणको च्याम्पियन बनेको चितवनले ५० लाखसहित सुन्दर ट्रफी हात पारेको छ । उपविजेता बनेको पोखराले १५ लाखमा चित्त बुझाएको छ ।

 त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको चितवनले १५.५ ओभरमा ६ विकेट गुमाएर १ सय १२ रनको लक्ष्य पूरा गर्यो । चितवनका लागि भीम सार्कीले अर्धशतकीय इनिङ खेले ।

चितवनका लागि ४१ बलको सामना गरेका भीमले ७ चौका र २ छक्कासहित ६३ रनको शानदार इनिङ खेले । यस्तै, दिलिप नाथले १८, राजेश पुलामीले १४ तथा मोहम्मद शहजादले ११ रन जोडे ।

बलिङतर्फ पोखराका लागि किशोर महतोले ३.५ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । यस्तै नन्दन यादवले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

पोखराका लागि ओपनरद्वय रिचार्ड लेभी र विपिन रावलले २१ बलमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । तर, त्यसपछि लागार विकेट गुमाएको पोखराका लागि माथिल्लो अर्डरका ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

चितवनका लागि कमलसिंह ऐरीले ३.५ ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै करिम जनत र सेकुगे प्रसन्नाले २–२ तथा कप्तान सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।

नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाएको यो अहिलेसम्मकै ठूलो राशी हो ।