मुम्बई प्लेअफ नजिक, भर कोलकाताको नतिजामा

मुम्बई प्लेअफ नजिक, भर कोलकाताको नतिजामा

मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको प्लेअफ नजिक पुगेको छ । एक खेल खेल्न बाँकी छँदा पाँचौं स्थानमा रहेको मुम्बईले मंगलबार रातिको जितपछि सम्भावनालाई जिवितै पारेको हो । 

शारजाहमा भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्यो । खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले निकै कमजोर खेल्दै ९ विकेटको नोक्सानीमा ९० रनमात्र जोड्न सक्यो । ओपनर एभिन लेविसले सर्वाधिक २४ रन बनाए । 

चार खेलाडीले मात्र दोहोरो स्कोर बनाएको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा प्लेयर अफ द म्याच नाथन कल्टर नाइलले १४ रन खर्चेर ४ विकेट लिए । जेम्स नीशमले ३ तथा जसप्रित बुमराहले २ विकेट लिए । 

मुम्बईको इनिङ्स

९१ रनको झिनो विजयी लक्ष्य पाएको मुम्बईले ८।२ ओभरमै जित निकाल्न सफल भयो । जारी आईपीएलमा यो सबैभन्दा कम ओभरमा निकालेको जित हो । 

कप्तान रोहित शर्माले १३ बलमा २२, इशान किशनले २५ बलमा नटआउट ५०, सूर्यकुमार यादवले ८ बलमा १३ तथा हार्दिक पाण्डेयाले ६ बलमा नटआउट ५ रन बनाए ।  मुस्तफिजुर रहमान र चेतन सकारियाले १–१ विकेट लिए । 

समीकरण 

यो जितपछि डिफेन्डिङ च्याम्पियन मुम्बईले प्लेअफ पुग्ने सम्भावना जिवितै राखेको छ । अन्तिम खेल खेल्नुअघि मुम्बई १२ अंकबाट पाँचौं स्थानमा छ । मुम्बई भन्दा अगाडि कोलकाता नाइट राइडर्सको १२ अंक नै भए पनि मुम्बईको भन्दा रनरेट राम्रो भएकाले अगाडि छ । 

अब मुम्बईले प्लेअफमा पुग्नका लागि आफूले जित निकालेर मात्र पुग्ने छैन कोलकाताले हार्नु पनि जरुरी छ । कोलकाताले अब बिहीबार राजस्थानसँग खेल्नेछ । यो खेलको नतिजाले मुम्बईलाई मौका हुनेछ । 

मुम्बईले जारी सिजनको सबैभन्दा कमजोर सनराइजर्स हैदराबादसँग शुक्रबार खेल्नेछ ।  मुम्बईसँगको हारपछि राजस्थान रोयल्सको प्लेअफ सम्भावना भने सकिएको छ । 

अंक तालिका

दिल्ली क्यापिटल्स १३ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको चेन्नई सुपर किंग्सको १८ अंक छ । एक खेल कम खेलेको रोयल च्यालेन्जर्स बैंगलोरको १६ अंक छ । 

कोलकाता र मुम्बईको समान १२ अंक छ । छैटौं स्थानको पन्जाब किंग्स र राजस्थानको समान १० अंक छ । पुछारको हैदराबादको १२ खेलबाट ४ अंक छ । 

बुधबारको खेल

बुधबार बैंगलोर र हैदराबाल खेल्दैछन् । अबुधाबीमा हुने खेल जितेमा बैंगलोरले क्वालिफायर्समा पुग्ने सम्भावना जिवित राख्नेछ । हारले भने प्लेअफमै सीमित हुनेछ ।