प्रहरीले चोरीका २१ वटा मोटरसाइकल धनीलाई बुझायो

प्रहरीले चोरीका २१ वटा मोटरसाइकल धनीलाई बुझायो

काठमाडौं । विभिन्न मितिमा राजधानीका फरक फरक स्थानबाट हराएका २१ वटा मोटरसाइकल प्रहरीले पक्राउ गरी सम्बन्धित धनीलाई बुझाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले खोजतलास गर्दा १० वटा मोटरसाइकल र ११ वटा स्कुटर गरी २१ वटा साधन फेला पारेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले मंगलबार सम्बन्धित धनीलाई सो साधन हस्तान्तरण गरेका हुन् ।

भट्टराईले उपत्यकासहित आसपासका क्षेत्रहरुबाट ती साधन बरामद गरेको बताएका छन् । चोरीमा संलग्नहरुलाई पक्राउ गरी कारवाहीका लागि विभिन्न वृत्तहरुमा पठाइएको पनि उले बताए । 

चोरले काठमाडौंका अस्पताल, पार्टी प्यालेस तथा विभिन्न स्थानमा रहेका एकान्त पार्किङमा जाने र लक तोडेर मास्टर चावी प्रयोग गर्ने वा सिधै तार जोडेर चोरी गर्ने पाइएको छ । यसरी चोरी गर्नुपुर्ब उक्त मोटरसाइकल र चालकको गतिबिधि निगरानी गर्ने, मौकाको खोजी गरि उपयुक्त समयमा बिभिन्न तरिका अपनाएर चोरी गर्ने गरेको पाइएको छ ।

चोरी पश्चात वर्कशपमा गएर स्वरुप परिर्वतन गर्ने, नम्बर प्लेट फेरेर बिक्रि गर्ने तथा आफैले समेत चलाउने गरेको पाइएको छ । पार्टसहरू खोलेर विक्रि वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको महाशाखाले जनाएकाे छ ।

यस आर्थिक वर्षमा हराएका ३२६ मोटरसाईकल मध्ये १४६ मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । १४६ मध्ये १२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको भने अन्य अन्य २४ वटाको धनी पत्ता लगाउने कार्य भैरहेको महाशाखाले जनाएको छ ।