काठमाडौ । श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ ।
बिहान नेपालगञ्जका लागि उडान भर्ने तयारीका क्रममा जहाजको एउटा चक्का चिप्लिएको र जहाजको सन्तुलन नमिल्दा तीन मिटर अगाडि पुगेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । उनका अनुसार उडान भर्ने तयारीमा रहेका बेला जहाज ‘डोमेस्टिक पार्किङ’बाट रनवेतर्फ निकाल्ने क्रममा चिप्लिएको थियो ।
टर्निङको क्रममा जहाजको देब्रेपट्टिको चक्का चिप्लिएको हो भने अहिले पनि जहाज निकाल्ने काम भइरहेको बुझिएको छ ।
जहाज उडानका लागि कुनै समस्या नरहएको र विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङमा जहाज चिप्लिएको हुनाले विमानस्थलमा उडान संचालनका लागि पनि कुनै बाधा नभएको उनले बताए ।