चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा

चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा पुगेको छ । दुबईमा सोमबार राति भएको खेलमा महेन्द्रसिंह धोनीको चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा पुग्न सफल भएको हो । 

चेन्नईले दिएको १३७ रनको सामान्य विजयी लक्ष्य दिल्लीले १९.४ ओभरमा ७ विकेटको नोक्सानीमा पूरा गर्यो । दिल्लीलाई जीत दिलाउन शिखर धवनले सर्वाधिक ३९ रन बनाए । 

त्यस्तै शिम्रन हिटमायरले नटआउट रहँदै १८ बलमा २८ तथा पृथ्वी शा र रिपल पटेलले समान १८–१८ रन बनाए । रविन्द्र जडेजा र शार्दुल ठाकुरले २–२ विकेट लिए ।

चेन्नईको इनिङ्स

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेटको नोक्सानीमा १३६ रन मात्र बनाउन सक्यो । अम्बाती रायडुले ४३ बलमा नटआउट रहँदै ५५ रन बनाए । रोबिन उथप्पाले १९ रन बनाए । 

कप्तान धोनीले भने २७ बलमा जम्मा १८ रन मात्रै बनाउन सके । उनले एउटा चौका हानेका थिए । उनी फ्लप भएसँगै टिमको योगफल पनि निकै कम भएको हो ।

यो सिजनमा धोनी व्यक्तिगत रुपले रन बनाएर सफल नभए पनि टिमलाई भने सन्तुलित राखिरहेका छन् । दिल्लीका अक्षर पटेलले २ विकेट लिए ।

अंक तालिका

क्वालिफायर नजिकको दिल्लीले १३ खेलमा २० अंक जोडेको छ । चेन्नई १३ खेलमा १८ अंकसहित दोस्रो स्थानमा झरेको छ । 

तेस्रो स्थानको रोयल च्यालेन्जर्स बैंगलोरको १२ खेलबाट १६ अंक छ । यी तीनमध्ये दुई टिम क्वालिफायर्समा पुग्नेछन् ।  प्लेअफमा चार टिम पुग्नु पर्नेमा अब एक टिमको आवश्यकता छ ।